२०८२ माघ ९,
घोराही, दाङ — लुम्बिनी प्रदेशकै पहिलो IoT (Internet of Things) तथा इनोभेसन प्रयोगशाला iLab औपचारिक रूपमा सञ्चालनमा आएको छ। घोराहीमा स्थापना गरिएको यस प्रयोगशालाले कक्षा ३ देखि स्नातक तहसम्मका विद्यार्थीहरूलाई आधुनिक प्रविधि, रोबोटिक्स, स्मार्ट प्रणाली, IoT प्रोजेक्ट निर्माण तथा नवप्रवर्तनमा व्यावहारिक अनुभव प्रदान गर्ने लक्ष्य लिएको छ।
iLab केवल तालिम केन्द्र मात्र नभई विद्यार्थीहरूको सिर्जनशीलता, अनुसन्धान र नवप्रवर्तन क्षमता उजागर गर्ने प्रयोगशाला भएको संस्थापकहरूको भनाइ छ। यहाँ विद्यार्थीहरूले वास्तविक उपकरण प्रयोग गरेर आफ्नै प्रोजेक्ट निर्माण गर्ने अवसर पाउनेछन्।
iLab टिम र नेतृत्व,
iLab का संस्थापक सन्देश आचार्य हुनुहुन्छ। उहाँसँगै समिर थापा, ज्योति शर्मा र एलिजा थापा सह–संस्थापक तथा साझेदारका रूपमा आबद्ध हुनुहुन्छ।
संस्थापक सन्देश आचार्य प्रविधि शिक्षामा प्रयोगात्मक सिकाइका प्रबल समर्थक हुनुहुन्छ। उहाँ भन्नुहुन्छ,
“हाम्रो लक्ष्य केवल सैद्धान्तिक ज्ञान दिनु होइन, विद्यार्थीहरूलाई आफ्नै हातले बनाएर सिक्ने अवसर दिनु हो। वास्तविक उपकरणसँग काम गर्दा मात्रै सिप र आत्मविश्वास विकास हुन्छ।”
iLab का सह–संस्थापक तथा प्रशिक्षण एवं शैक्षिक कार्यक्रम निर्देशक समिर थापा का अनुसार दाङसहित देशभरका विद्यार्थीहरूलाई आधुनिक प्रविधि र IoT मा दक्ष बनाउने दिशामा iLab केन्द्रित छ।
iLab स्थापना हुनुको उद्देश्य
सन्देश आचार्यका अनुसार उहाँको प्रविधि र आविष्कारप्रतिको रुचि बाल्यकालदेखि नै सुरु भएको हो। कक्षा ९ मै उहाँले ब्लुटुथबाट नियन्त्रण गर्न मिल्ने कार र मोबाइलमार्फत घरका बत्ती, पंखा तथा अन्य उपकरण नियन्त्रण गर्ने प्रोजेक्ट निर्माण गर्नुभएको थियो।
विश्वविद्यालय अध्ययनका क्रममा नेपालको शिक्षा प्रणाली पाठ्यपुस्तक र परीक्षामा बढी केन्द्रित भएको र प्रोजेक्ट–आधारित अभ्यासको अभाव देखेपछि iLab स्थापना गर्ने सोच विकसित भएको उहाँ बताउनुहुन्छ।
“विद्यार्थीहरूले किताब मात्र होइन, आफ्नै हातले बनाएर सिक्ने अनुभव पाउनुपर्छ भन्ने उद्देश्यले iLab स्थापना गरिएको हो,” सन्देश आचार्यले भन्नुभयो।
किन घोराही?
यस विषयमा iLab की अनुसन्धान तथा नवप्रवर्तन विभाग प्रमुख एलिजा थापा भन्नुहुन्छ,
“प्रतिभा काठमाडौंमा मात्र सीमित छैन। घोराहीका विद्यार्थीहरूमा पनि उत्तिकै सम्भावना छ, तर यहाँ प्लेटफर्मको कमी थियो। त्यही कमी पूर्ति गर्न iLab स्थापना गरिएको हो।”
iLab ले स्थानीय विद्यार्थीहरूको क्षमता पहिचान गरी उनीहरूलाई IoT, रोबोटिक्स तथा स्मार्ट सिस्टम डिजाइनमा दक्ष बनाउने लक्ष्य लिएको छ।
फिजिकल क्लास र हातैले सिकाइको महत्व
iLab मा विद्यार्थीहरूले Arduino, NodeMCU, ESP32, Raspberry Pi जस्ता उपकरणसँग प्रत्यक्ष रूपमा काम गर्ने अवसर पाउँछन्। यसले रोबोट, स्मार्ट प्रणाली तथा IoT प्रोजेक्ट निर्माणमा व्यावहारिक ज्ञान दिन्छ।
साझेदारी तथा संस्थागत सम्बन्ध निर्देशिका ज्योति शर्मा भन्नुहुन्छ,
“हातैले सिक्ने अनुभव अनलाइन कोर्सले दिन सक्दैन। गल्ती गरेर सुधार्ने प्रक्रियाबाटै वास्तविक सिप विकास हुन्छ।”
साना बालबालिकादेखि स्नातक तहसम्म तालिम
iLab मा कक्षा ३ का विद्यार्थीहरूले समेत IoT र रोबोटिक्स सिकिरहेका छन्।
सन्देश आचार्यका अनुसार,
“आजका बच्चाहरू केवल मोबाइल चलाउने मात्र होइन, LED बलाउने, सेन्सर प्रयोग गर्ने र रोबोटिक्स प्रोजेक्ट बनाउन पनि सक्षम छन्। हामी खेलकै शैलीमा सिकाइ दिन्छौं।”
तालिम र प्रोजेक्टहरू
iLab मा प्रोजेक्ट–आधारित तालिम प्रदान गरिन्छ, जसअन्तर्गत:
• मोबाइलबाट बत्ती नियन्त्रण
• स्मार्ट बेल
• तापक्रम मोनिटरिङ
• ब्लुटुथ–नियन्त्रित कार
• गेस्चर–नियन्त्रित रोबोट
• स्मार्ट कृषि प्रणाली
• सौर्य प्रणाली
• Arduino, NodeMCU, ESP32, Raspberry Pi प्रोग्रामिङ
लगायतका तालिमहरू समावेश छन्। यी तालिम कक्षा ३ देखि स्नातक तहसम्मका विद्यार्थीहरूका लागि उपयुक्त छन् र तालिम सम्पन्न गरेपछि प्रमाणपत्र पनि प्रदान गरिन्छ।
“हामी चाहन्छौं विद्यार्थीहरूले जागिर खोज्नुभन्दा आफ्नै स्टार्टअप सुरु गर्न सकुन्। नेपालमै अवसर छ, आवश्यक छ पहुँच र प्लेटफर्मको ,” सन्देश आचार्यले भन्नुभयो।
iLab को सञ्चालनसँगै दाङ तथा मध्यपश्चिमी क्षेत्रमा प्रविधि र नवप्रवर्तनको नयाँ युग सुरु भएको अपेक्षा गरिएको छ।