महेन्द्र बहुमुखी क्याम्पसमा राजनीतिक हस्तक्षेप अन्त्य हुनुपर्ने स्ववियुको माग
दाङ पौष २९ । विश्वविद्यालय तथा क्याम्पसका हरेक गतिविधिमा हुने राजनीतिक हस्तक्षेपले शैक्षिक वातावरण, प्रशासनिक कार्यसम्पादन र विद्यार्थीको हितमा गम्भीर असर पारिरहेको भन्दै स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) महेन्द्र बहुमुखी क्याम्पस, दाङले कडा आपत्ति जनाएको छ।
स्ववियुले क्याम्पस प्रशासनका हरेक क्रियाकलापमा राजनीतिकरण गर्ने प्रवृत्ति अन्त्य हुनुपर्ने माग गर्दै यदि यही शैली कायम रहने हो भने क्याम्पस हाताभित्र राजनीतिक भवन निर्माण गर्नेसम्मको चुनौती दिन तयार रहेको चेतावनी दिएको छ। करिब ८ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत क्याम्पसमा राजनीतिक वितृष्णामा फसेका जेन–जी उमेर समूहका हजारौँ विद्यार्थी रहेको उल्लेख गर्दै सक्षम, योग्य र दक्ष व्यक्तिलाई मूल्याङ्कनको आधारमा जिम्मेवारी दिनुपर्ने स्ववियुको स्पष्ट धारणा छ।
स्ववियुले निकट भविष्यमा सञ्चालन हुने विशेष शैक्षिक कार्यक्रमका को–कोडिनेटरहरु सम्बन्धित विषय र क्षमताका व्यक्तिबाट मात्रै चयन गर्न माग गरेको छ। यदि त्यसो नभए स्ववियु प्रतिवादमा उत्रन बाध्य हुने जनाएको छ।
विद्यार्थीलाई खुशी बनाउने नाममा बाहिरी तडक–भडक पर्याप्त नहुने भन्दै स्ववियुले प्रशासनबाट प्रदान गरिने सेवाहरू छिटो, छरितो र सहज हुनुपर्नेमा जोड दिएको छ। त्रिभुवन विश्वविद्यालयले जारी गर्ने सूचना समयमै अद्यावधिक गर्न, विश्वविद्यालयका नीति–नियमबारे कर्मचारी पूर्ण रूपमा जानकार हुन र शाखागत कार्यसम्पादन प्रभावकारी बनाउन कर्मचारीको भूमिका निर्णायक हुने स्ववियुको ठहर छ।
पछिल्लो समय क्याम्पसका शाखाहरूको कार्यसम्पादनप्रति विद्यार्थीहरू असन्तुष्ट रहेको उल्लेख गर्दै स्ववियुले कर्मचारीको समयपालनमा गम्भीर लापरवाही भएको आरोप लगाएको छ। परीक्षा सञ्चालनअघि १५ मिनेट अगाडि परीक्षार्थीलाई कक्षा कोठामा बसाल्ने र उत्तरपुस्तिका उपलब्ध गराउने त्रिविको स्पष्ट निर्देशनसमेत पालना नभएको स्ववियुको भनाइ छ।
भर्ना, परीक्षा फाराम, मार्कसिटजस्ता सामान्य कामका लागि पनि विद्यार्थी तनावमा क्याम्पस धाउनुपर्ने अवस्था रहेको भन्दै कागजातहरूको व्यवस्थापन अव्यवस्थित र असुरक्षित भएको स्ववियुले जनाएको छ। भोलि माइग्रेसनजस्ता महत्वपूर्ण कागजात हराए जिम्मेवारी कसले लिने भन्ने प्रश्नसमेत स्ववियुले उठाएको छ।
स्ववियुले शाखागत आवश्यकताअनुसार कर्मचारीको कार्यविभाजन क्षमता र दक्षताको आधारमा तत्काल हेरफेर गर्न माग गरेको छ। यस्तै, ८ हजारभन्दा बढी विद्यार्थी रहेको आङ्गिक क्याम्पसमा एउटासमेत व्यवस्थित सूचना पाटी नहुनु दुःखद भएको उल्लेख गर्दै कक्षा कोठा, पढाइ हुने विषय र प्रशासनिक शाखाहरू स्पष्ट देखिने गरी सूचना पाटी राख्न आग्रह गरेको छ।
६ महिनाअघि विभागीय प्रमुखहरूसँगको छलफलमा विषय–कोट सार्वजनिक गर्ने वा पुस्तिका प्रकाशन गर्ने निर्णय भए पनि कार्यान्वयन नभएकोप्रति पनि स्ववियुले असन्तोष व्यक्त गरेको छ।
अन्य क्याम्पसहरूसँग तुलना गर्दै स्ववियुले महेन्द्र बहुमुखी क्याम्पसमा सरसफाइ, व्यवस्थापन र विद्यार्थीमैत्री वातावरणको अभाव रहेको जनाएको छ। विशेषगरी शौचालयको दयनीय अवस्थालाई गम्भीर लापरवाहीको परिणाम भन्दै नियमित सरसफाइको माग गरेको छ।
स्ववियुले क्याम्पसका गतिविधि, आय–व्यय विवरण र विकास निर्माणका कामहरू पारदर्शी रूपमा सार्वजनिक गर्न माग गर्दै एक वर्षभित्रै ठूलो परिवर्तन सम्भव रहेको दाबी गरेको छ। आर्थिक स्रोत, जनशक्ति र इच्छाशक्ति हुँदाहुँदै पनि क्याम्पस पछाडि पर्नु चिन्ताको विषय भएको स्ववियुको निष्कर्ष छ।
अन्त्यमा, स्ववियुले विद्यार्थीको हक, हित र अधिकार तथा क्याम्पस विकासका लागि आफ्नो कार्यकालभरि प्रतिबद्ध रहने स्पष्ट पार्दै विद्यार्थीका विषयलाई राजनीतिकरण गर्ने कुनै पनि प्रयास स्वीकार्य नहुने चेतावनी दिएको छ।









