पवित्रादेवी स्मृति क्रिकेट प्रतियोगिताको फुड स्पोन्सरमा लिटिल फरेष्ट
दाङ, पौष ४
घोराहीमा आयोजना हुने पवित्रादेवी स्मृति टि–२० क्रिकेट प्रतियोगिता–२०८२ को फुड स्पोन्सरका रूपमा लिटिल फरेष्ट रहने भएको छ। प्रतियोगिताका आयोजक दाङ युवा क्लब र लिटिल फरेष्टबीच फुड स्पोन्सरसिप सम्बन्धी सम्झौता शनिबार सम्पन्न भएको हो।
पौष १३ गतेदेखि सुरु हुने प्रतियोगिता घोराही उपमहानगरपालिका–१७ स्थित गुलरिया क्रिकेट मैदानमा सञ्चालन हुनेछ। आयोजकका अनुसार प्रतियोगितामा विभिन्न टिमहरूको सहभागिता रहने छ।
दाङ युवा क्लबका कोषाध्यक्ष सुजित शर्माका अनुसार प्रतियोगिताको विजेता टिमले नगद १ लाख रुपैयाँ, उपविजेताले ५० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन्।
आयोजक दाङ युवा क्लबले यस प्रतियोगिताले जिल्लामा क्रिकेट खेलको विकासमा टेवा पुग्नुका साथै स्थानीय खेलाडीहरूलाई थप प्रोत्साहन मिल्ने विश्वास व्यक्त गरेको छ।








