त्रिभुवननगर जेसीजकोआयोजनामा बाह्रकुने दहमा निःशुल्क स्वास्थ्य शिविर, ३१० जना लाभान्वित
घोराही, १ माघ । माघी मेलाको अवसरमा घोराही उपमहानगरपालिका–१३ स्थित बाह्रकुने दहमा निःशुल्क प्राथमिक स्वास्थ्य शिविर सम्पन्न भएको छ। त्रिभुवन नगर जेसिज, दाङ महिला जेसिज लगायत सामाजिक संस्थाको आयोजनामा सम्पन्न एकदिने शिविरबाट ३१० जनाले स्वास्थ्य परीक्षण तथा परामर्श सेवा लिएका छन्।
त्रिभुवन नगर जेसिसका अध्यक्ष मिनराज भाँटको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जेसिस सदस्य एवं कार्यक्रम संयोजक डा. आशिष उप्रेतीको टोलीले सुगर, प्रेसर, टाउको दुखाइ, रुघाखोकीलगायतका रोगको परीक्षण गर्नुका साथै आवश्यक औषधि तथा स्वास्थ्य सामग्री वितरण गरेको त्रिभुवन नगर जेसिसका महासचिव बाबुराम पाण्डे (चुडामणि) ले जानकारी दिनुभयो।
शिविरको उद्घाटन गर्दै प्रमुख अतिथि लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले माघी मेला जस्ता सांस्कृतिक पर्वको अवसरमा स्वास्थ्य शिविर सञ्चालन हुनु सराहनीय कार्य भएको बताउनुभयो। उहाँले यस्ता कार्यक्रमले जनताको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो।
कार्यक्रमका विशेष अतिथि पूर्व मुख्यमन्त्री शंकर पोख्रेलले स्वास्थ्य सेवा सबै नागरिकको आधारभूत अधिकार भएको बताउँदै सामाजिक संस्थाहरूको भूमिका प्रशंसनीय रहेको धारणा व्यक्त गर्नुभयो।
घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले स्थानीय तह नागरिकको स्वास्थ्यप्रति संवेदनशील रहेको बताउँदै समुदाय केन्द्रित स्वास्थ्य कार्यक्रमलाई नगरपालिकाले प्राथमिकतामा राखेको जानकारी दिनुभयो।
कार्यक्रममा त्रिभुवन नगर जेसिसका पूर्व अध्यक्षहरू दीपक शर्मा (समिर), मुकेश शर्मा, रवि किरण केसी, माधव पौडेल, माधव पौडेल, दाङ महिला जेसिसकी अध्यक्ष अर्चना शर्मा, निवर्तमान अध्यक्ष अनिता ढकाल, कानुनी सल्लाहकार लक्ष्मी घमाललगायतको उपस्थिति रहेको थियो।
स्वास्थ्य शिविर सञ्चालनमा रोटरी क्लब अफ दाङ, लायन्स क्लब अफ घोराही सिटी तथा अप्टिमिस्ट क्लब अफ घोराही सिटीको संयुक्त सहकार्य रहेको आयोजकले जनाएको छ।









